काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।
संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहबिच राष्ट्रपति पौडेललाई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय-क्षेत्रीय-अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए । उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानबीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
परिषद्को यही भदौ ९ गतेको ३४औँ बैठकले ती प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो ।