जाजरकोट, २३ भदौ । जाजकरकोटमा पहिरोले पुरीएर श्रीमान श्रीमतीको निधन भएको छ ।
अविरल वर्षाका कारण बारेकोट गाउँपालिका-६ तल्लो टोल धुम बस्ने ४७ वर्षीय मान बहादुर चलाउनेको घर शनिबार राती पहिरोले पुरिँदा मान बहादुर र उनका श्रीमती प्रेम कुमारी चलाउनेको मृत्यु भएको हो ।
घर पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नायकवाडाबाट खटिएको प्रहरीले आवश्यक उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
साथै पहिरोमा परी घाइते भएकी ११ वर्षीया सम्झना चलाउनेलाई उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेततर्फ पठाइएको जाजरकोट प्रहरीले जनाएको छ ।
त्यस्तैगरी डोटी, आदर्श गाउँपालिका-३ आगर बस्ने ६१ वर्षीया कौमती देवी ऐरको पहिरो सहित आएको ढुंगाले लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका-६ सवखोलास्थित छोरीको घर जाने क्रममा सोही गाउँपालिका-३ धनियाँ खोलास्थित बाटोमा हिँडिरहेको अवस्थामा पहिरो सहित आएको ढुंगाले लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परेर घाइते भएकी सोही गाउँपालिका-३ बस्ने कर्ण बहादुर ऐरकी छोरी १४ वर्षीया भुवनेश्वरी ऐरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यसमा प्रयोग गरिएको तस्वीर प्रतिनिधिमुलक मात्र हो ।