धादिङ, २१ भाद्र । जंगलमा अरिङ्गाल पोल्न जाँदा अरिङ्गालले टोकेर घाइते भएका तीनजनामध्ये एकजनाको निधन भएको छ ।
जिल्लाको थाक्रे गाउँपालिका-४ थमक जङ्गलमा बुधबार दिउँसो अरिङ्गाल पोल्न गएका तीनजनालाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारको लागी काठमाडौंस्थित वीर अस्पताल लगिएको थियो ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार थाक्रे गाउँपालिका-२ बस्ने वर्ष-३९ को राम बहादुर राई, सोही पालिकाको वडा नम्बर-६ महादेववेशी बस्ने वर्ष २९ को सुकराम नेवाङ र सिन्धुली मरिण गाउँपालिका-४ घर भई हाल धादिङ थाक्रे-२ समानटारमा डेरा गरी बस्ने वर्ष-३१ को सोमलाल घिसिङ घाइते भएका थिए ।
घाइतेमध्ये घिसिङको उपचारको क्रममा वीर अस्पतालमा बिहीबार बिहान ११:५० बजे निधन भएको हो ।
घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।