बागलुङ, २१ भाद्र । आज बिहान बागलुङमा मोटरसाइकल र स्कुटरलाई खोलाले बगाउँदा तीन जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान ०:३० बजेको समयमा बागलुङ नगरपालिका-४ कुडुलेमा कुडुले देखी मालिका तर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नं. को स्कुटरलाई बान्द्रे खोलाले बगाएको थियो ।
खोलाले बगाउँदा मोटरसाइकल र स्कुटरमा सवार चार जनामध्ये तीन जना मृत भेटिएका हुन् भने एक जना सकुशल छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार बागलुङ-४ बान्द्रे अढाईथर बस्ने वर्ष २३ को अर्जुन सापकोटा घटनास्थल देखी अन्दाजी १०० मिटर तल र सोही स्थानका २२ वर्षका अविशेक रेग्मी घटनास्थल देखी अन्दाजी २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।
मृतकमध्ये सापकोटा मोटरसाइकल चालक र रेग्मी मोटरसाइकलको पछाडि सवार रहेको डिएसपी यादवले बताए । मृतक दुवै जनाको शव राती नै धौलागिरि अस्पताल बागलुङमा ल्याएर शव गृहमा राखिएको हो ।
घटनास्थलमा राती नै प्रहरी निरीक्षक प्रताप पौडेलको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको थियो । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट आठ किलोमिटर उत्तरमा पर्दछ ।
त्यस्तै स्कुटरमा सवार दुई जना मध्ये चालक रामु सापकोटा सकुशल रहेका छन् । स्कुटरको पछाडि बसेका कमल सापकोटाको शव आज बिहान घटनास्थल देखी अन्दाजी ५०० मिटर तल भेटिएको हो ।
मृतक तीन जनाको शव अहिले धवलागिरि अस्पतालमा राखिएको छ भने स्कुटर र मोटरसाइकललाई पनि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको प्रहरी जनाएको छ ।