काठमाडौँ, १९ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले पारा ओलम्पिकमा कांस्य पदक जित्न सफल पलेशा गोवर्धनलाई सम्मान गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार शीतल निवासमा आज अपराह्न ४:०० बजे सम्मान गर्ने कार्यक्रम छ ।
आज स्वदेश फर्किएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का विशिष्ट पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत भएको के-४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले कांस्य पदक जितेकी हुन् ।
योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।