काठमाडौँ, १८ भाद्र । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा खेल्ने भनिएको पहिलो अभ्यास खेल वर्षाले रुद्ध भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज पहिलो खेल हुने तालिका रहेको थियो ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो ।
नेपालले अब दोस्रो अभ्यास खेल बुधवार र तेस्रो खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।
श्रीलङ्कामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।