बाँके, १७ भाद्र । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ ।
नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।
भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका छन् ।
उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाकै कारण मृत्यु भएको हो ।
फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
झाडा पखाला भनेको के हो ?
सामान्यतया चौविस घण्टामा तीन पटक वा ३ पटक भन्दा बढी पानी जस्तो पातलो दिसा लाग्यो भने झाडा पखाला लागेको मानिन्छ । झाडा-पखाला लाग्दा शरीरमा भएको पानी, नुन, ग्लुकोज जस्ता पोषक तत्व (तागत) छिटैखेर जान्छ र शरीर कमजोर हुन्छ ।
झाडा पखाला मुख्य गरेर आँखाले देख्न नसकिने सूक्ष्म किटाणुबाट लाग्ने रोग हो ।
झाडा पखालाका किटाणुहरू दिसामा हुन्छन् र कुनैपनि माध्यमबाट ती किटाणुहरू मानिसको शरीरमा प्रवेश गरेमा यो रोग लाग्दछ ।
झाडा पखाला जो कसैलाई पनि लाग्न सक्छ । कुपोषण भएको, फोहोर वातावरणमा रहने र व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसहरूलाई झाडा पखाला लाग्ने सम्भावना बढी हुन्छ ।