काठमाडौँ, १६ भाद्र । नेपाल पत्रकार महासंघले निर्वाचनको मिति तोकेको छ । महासंघको आइतबार बसेको बैठकले केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहको निर्वाचन असोज ५ गते निर्णय गरेको हो।
यसअघि गत जेठमै निर्वाचन गर्ने निर्णय गरे पनि सदस्यता विवादका कारण चुनाव लम्बिएको हो। घोषणा भएको मितिमा निर्वाचन हुन नसक्नुको नैतिक जिम्मेवार लिने अध्यक्ष विपुल पोखरेलले जनाएका छन् ।
‘घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षको नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु।’ उनले भनेका छन्, ‘महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गर्दै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनुपर्ने आवश्यकता महसुस गरेको छु ।’
उनले लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा योपटक महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।
सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने बताउँदै अध्यक्ष पोखरेलले शुद्धीकरणका क्रममा भएका क्रमशः सच्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनको भनाइ छ ।