काठमाडौँ, ३ भाद्र । सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।
मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।
विश्व स्वास्थ्य सांगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।
एम्पक्स संक्रमणमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डावर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुखे र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ ।
आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।