काठमाडौं, ३ भाद्र । सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका पूर्व सचिव काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका छन् ।
सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका अनुज नकर्मीलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर लगेपछि आइतबार मात्र सार्वजनिक गरेको हो ।
विरजंग-१४ श्रीपुर स्थायी ठेगाना भएका नकर्मी पोखरा-१७ घारीपाटनमा बस्दै आइरहेका थिए ।
जिबी राई अध्यक्ष रहको उक्त सहकारीको रकम रवी लामिछानेमार्फत गोर्खा मिडिया प्रालिमा प्रयोग पाइएको थियो । जिबी राई हाल फरार रहेकामा लामिछानेमाथि छानबिन भइरहेको छ ।
पक्राउ परेका नकर्मीलाई कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।