पोखरा, ३२ श्रावण । स्वरुप परिवर्तन गरिएका १४९ वटा मोटरसाइकललाई जिल्ला प्रहरीले कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएको आज कास्की प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
अघिल्लो वर्षको असोज २१ गतेदेखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केही समय सुस्त रहेको उक्त अभियान पुन: २०८० साल फाल्गुनमा तीन दिन सञ्चालन गर्दा स्वरुप परिवर्तन गरेका ५९ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले मोटरसाइकल मात्र नभएर वर्कसप सञ्चालकहरूलाई समेत पक्राउ गरेर स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडेको थियो । आठवटा वर्कसपका सञ्चालकलाई पक्राउ गरेर शर्तमा छाडिएको र विभिन्न वर्कसपमा स्टीकर समेत टाँस गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए ।
अहिले पुन उक्त अभियान अन्तरगत श्रावण ३० गतेदेखि भदौ २ गते १४९ थान मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीको प्रकियामा राखिएको छ । यसरी पक्राउ पर्नेमा पहिलो पटके देखि चौथो पटकसम्म कारबाहीमा परेकाहरू समेत रहेका छन् ।
डिएसपी शर्माका अनुसार अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने दुई हजार ३५ वटा मोटरसाइकललाई कारवाही गरेर २९ लाख ८०० रुपैयाँ जरिवाना गरिएको छ ।
के हुन्छ कारबाही
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको डिएसपी शर्माले बताए ।
कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध गरेको छ ।