काठमाडौँ, १ भाद्र । नेपालबाट स्टूडेन्ट भिसामा क्यानडा पठाउँदा आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्ने खाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउन दूतावासले सुझाव दिएको छ ।
निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहनु भएका नेपाली विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका लागि नेपाली राजदूतावास, ओटावाले हिजो सात बुँदे सुझाव दिएको हो ।
लहड र अरूको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।
‘रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटि व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ,’ दूतावासले भनेको छ, ‘अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्ने खाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।’
‘क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रबन्ध गरेर मात्र आउनुपर्छ।’ दूतावासले भनेको छ ।
सोसल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहन पनि दूतावासले भनेको छ ।