काठमाडौं, भाद्र १ । जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे प्रारिम्भक जानकारी दिँदै उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल र हिमपोखरी रहेको उल्लेख गरेको छ। तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने महाशाखाको आकलन छ।
“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९. ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५.९ डिग्री तापक्रप पुगेको थियो,” महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ।”
शुक्रबार दिउँसो थामेमा एक्कासी आएको बाढीले भौतिक संरचना बगाएको छ। गाउँपालिकाले शुक्रबार साँझ एक सूचना जारी गर्दै एक विद्यालय होस्टेल, एक क्लिनिक, पाँच वटा होटेल र सात वटा घर सहित १४ वटा भवनहरू पूर्ण रूपमा बगेको जनाएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले दिएको जानकारीअनुसार बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशङ्का छ ।
आज दिउँसो माथिबाट आएको लेदो सहितको बाढीले थामे बस्तीमा ठुलो क्षति गरेको गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताए ।
विभागले जारी गरेको सूचना