रामेछाप, ३२ श्रावण । खसी चोरी गरेको आरोपमा रामेछाप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
श्रावण २३ गते राती रामेछाप नगरपालिका-४ बस्ने विर बहादुर मगरको गोठबाट तीन वटा खसी चोरी भएका थिए ।
त्यहाँबाट चोरी भएका खसी खोजतलास गर्ने क्रममा सिन्धुलीमा एउटा खसी फेला परेको हो ।
खसी चोरी गरेको आरोपमा सिन्धुली फिक्कल गाउँपालिका-२ बस्ने गोपीलाल सुनुवार पक्राउ परेका हुन् ।
रामेछापबाट चोरी गरिएका खसी सिन्धुलीमा रहेको आफ्नो घरमा राखेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुली समेतको समन्वयमा चोरी भएका एउटा खसीसहित सुनुवारलाई पक्राउ गरिएको हो ।’
सुनुवारउपर रामेछाप जिल्ला अदालतबाट चोरीमा मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।