पर्सा, ३२ श्रावण । पर्सा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति कालिकामाई-१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँ रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले बताए ।
पक्राउ परेका मियाँ गाँजा र चरेसका नामूद कारोबारी हुन् । स्रोतका अनुसाार उनले मकवानपुर र धादिङ जिल्लाको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामार्फत पर्सामा ल्याएर भारतमा तस्करी गर्दै आएका थिए ।
उनको साथबाट प्रहरीले सुरुमा ३० किलो गाँजा बरामद गरेको थियो । जिल्लाको पटेर्वासुगौली -४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा बिहीबार राती ८:०० बजे उनलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका मियाँसँगको सोधपुछ गर्दा उनले अरू लागुऔषध बाँसघारीमा खाल्डो खनेर लुकाएको बयान दिएका थिए । उनको भनाईअनुसार त्यस स्थानमा खोजतलास गर्दा १९२ केजी चरेश र गाँजाको धुलो (पोलाण्ड) २६७ केजी बरामद भएको हो ।
बरामद भएको सम्पूर्ण लागुऔषधको तौल ४८९ केजी रहेको प्रवक्ता भारतीले बताए ।
मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।