काठमाडौं, ३१ श्रावण । मौसम पूर्वानुमान महाशाखाले आज देशका चारवटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना छ ।
आउँदो २४ घण्टामा सबै प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्कीलगायत ठाउँमा पानी परेको छ ।