पोखरा, ३० श्रावण । पोखराका रात्रिकालीन व्यवसायबाट सात बालिकाको उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका-९ मा रहेको रहेको क्लब डी बाट तीन, पोखरा-८ चिप्लेढुङ्गामा रहेको गाउँ शहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साईनो दोहोरी साँझबाट दुई जना गरी सात जना बालिकाको उद्धार गरिएको हो ।
मङ्गलवार राती जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले उनीहरूको उद्धार गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘रात्रिकालीन व्यवसायमा बालिकाहरूलाई काममा लगाइएको गुनासो आएपछि हामीले अनुगमन गरेका थियौँ । हिजो सात बालिकाको उद्धार गरियो, अनुगमनलाई अझै तीव्र पार्छौँ ।’
प्रहरीका अनुसार बालिकाहरूलाई काममा लगाउने क्लब, दोहोरी साँझका सञ्चालकहरूमाथि अनुसन्धान जारी छ ।