काठमाडौँ, ३० श्रावण । सुन किन्नको लागि न्यूरोड पुगेकी एक महिला उक्त पसलबाट दुई तोलाभन्दा बढी तौलको सिक्री चोरेर भागिन् ।
श्रावण २५ गते न्यूरोडको नारायण ज्वेलर्समा पुगेकी ५२ वर्षकी ती महिलाले सुनका गहना खरिद गर्ने भन्दै दुई तोला २० लालको सिक्री हेरिन् ।
ज्वेलर्सका कर्मचारी भित्र पसेको मौका पारेर उनले उक्त सिक्री लिएर फरार भइन् ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न महिला लिना नकर्मीले भएको पत्ता लाग्यो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले नकर्मीलाई मङ्गलवार ललितपुरको पुलचोकबाट पक्राउ गर्यो ।
पक्राउ परेकी नकर्मीले प्रहरीसामु आफूले चोरेको सिक्री न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गरेको बयान दिइन् ।
उनको बयानपछि प्रहरीले जगन्नाथ ज्वेलर्सका सञ्चालक चित्र रञ्जन हजारालाई पनि आज नियन्त्रणमा लिएर सोधपुछ सुरु गर्यो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार ललितपुरको पुलचोक बस्ने नकर्मीले यसअगाडि चोरी गरेका गरगहना पनि जगन्नाथ ज्वेलर्समा लगेर बेच्ने गरेको खुलेको छ ।
उनले केही समय अगाडि १७ ग्रामको सुनको सिक्री पनि भारतीय नागरिक हजाराले सञ्चालन गरेको सोही ज्वेलर्समा विक्री गरेको बयान प्रहरीसामु दिएकी छन् । साथै प्रहरीले उनको साथबाट पुष्टि हुन नसकेको अन्दाजी दुई तोलाको सिक्रीसमेत बरामद गरेको छ ।
चोरीमा संलग्न नकर्मी र चोरीका गरगहना किन्ने जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाएको एसपी आचार्यले बताए ।