काठमाडौँ, २८ श्रावण । ग्रीनकार्डको प्रलोभन देखाएर एक महिलालाई मौरिसस पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले झापाको तोपगाछी घर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति झापा साबिक तोपगाछी गाविस-९ हाल परिवर्तित कमल गाउँपालिका-१ घर भएका ५४ वर्षका बुद्धिराज न्यौपाने हुन्।
उनले आर्थिक अवस्था कमजोर भएकी महिलालाई मौरीससमा मासिक रु सत्तरी हजार कमाई हुने कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनी प्रलोभन देखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनले ती महिलाबाट लागत खर्च बापत रु दुई लाख ५० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि मौरिसस पुर्याउनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौरिसस लेखिएको क्याप लगाउन दिई फोटो खिचेर मौरीससमा रहेको उनको साथीलाई पठाएका थिए ।
२०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगेकी महिलालाई क्यापको आधारमा न्यौपानेका साथीले पहिचान गरेका थिए ।
मौरिससको एअरपोर्टमा ती महिलालाई रिसिभ गरेर उनले पीडित महिलालाई मौरिसियन नागरिकलाई जिम्मा लगाएको खुल्न आएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।
मौरिसियन नागरिकले पीडित महिलालाई खरिद गरी ल्याएको भनी दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेका थिए ।
पीडित महिलाले नेपाल फर्कनको लागि न्यौपानेसँग अनुरोध गर्दा उनले घर मालिकले भनेबमोजिम गर्न भनी डर धम्की समेत दिएको खुलेको छ ।
मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगलमा रहेको नेपाली नागरिकको सहयोगमा २० असार २०८१ मा नेपाल आएर ब्युरोमा जाहेरी दिएकी हुन् ।
पीडित महिलाको जाहेरीपश्चात् ब्युरोको टोलीले न्यौपानेलाई आज काठमाडौँको गौरीघाटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।