विराटनगर, २८ श्रावण । सुनसरीको इटहरी-५ मा पचरुखीमा आफ्नै काकाले १८ महिनाको भतिजीको बीभत्स तरिकाले हत्या गरेका छन् ।
३० वर्षका शालिग्राम लुइँटेललाई भतिजी हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै दाजु नवराज लुइँटेलको डेढ बर्सिया छोरी आईन्सु लुइँटेलको शनिवार दिउँसो बीभत्स तरिकाले हत्या गरेपछि घटनास्थलबाटै उनलाई पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आफू बस्दै आएको डेरामा धारिलो ब्लेडले घाँटी र टाउको चिरेर उनले भतिजीको हत्या गरेका हुन् । घटनास्थलमा ब्लेड समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको बुवा वैदेशिक रोजगारीको लागि विदेशमा गएको बुझिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार लुइँटेल मानसिक रोगी भएको र लामो समयदेखि डिप्रेसनको औषधी सेवन गरिएको खुल्नमा आएको छ ।
केही वर्षअघि घरको छतबाट हाम फालेका लुइँटेलको ढाड भाँचिएको थियो ।
घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।