काठमाडौं, २६ श्रावण । अमेरिका पठाइदिन्छु भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
अर्घाखाँची पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल काठमाण्डौ तारकेश्वर-२ बस्ने २१ वर्षकी लक्ष्मी माझीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले बिहीबार पक्राउ गरेको हो ।
मासिक रु दुई लाखसम्म कमाई हुने काममा अमेरिका पठाइदिने भनी माझीले चौवन्न लाख सात हजार आठ सय सत्तरी रुपैयाँ लिएर सम्पर्कबिहीन भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
पीडितको जाहेरीपश्चात प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । खोजतलास गर्ने क्रममा माझीलाई बिहीबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले केटिएम दैनिकलाई बताए ।
उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं लगिएको छ ।