बिराटनगर, २४ श्रावण । जिल्ला कारागार मोरङबाट उपचारका लागि अस्पताल पुगेपछि फरार भएका कैदी बन्दीलाई प्रहरीले ७ दिनपछि पुनः पक्राउ गरेको छ ।
गत श्रावण १५ गते पेट दुख्ने समस्याका कारण बिरामी भएपछि कोशी अस्पताल विराटनगर लगिएका विराटनगर ८ का २४ बर्षिय मोहम्मद अहमद श्रावण १७ गते बिहान शौचालय जाने क्रममा फरार भएका थिए ।
उनलाई प्रहरीले शुक्रबार बिहान जहदा गाउँपालिका १ तारेगामामा पर्ने नेपाल भारत सीमाबाट भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।
अहमद २०७९ फागुन २९ गतेदेखि जवरजस्तीकरणी मुद्धामा अदालतको आदेश अनुसार १२ बर्षको कैद सजाय भोगिरहेका थिए । अदालतको फैसलाअनुसार उनी २०९१ साल फाल्गुन ३ गते मात्रै कारगारबाट मुक्त हुनेछन्
उनलाई इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरिक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले भारतीय सीमा क्षेत्रबाट पक्राउ गर्न सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।