धुलिखेल, २४ श्रावण । धुलिखेलमा अस्पतालमा नवनिर्मित बाल वार्ड भवनको उद्घाटन गरिएको छ ।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको रु. चार करोड २६ लाखको आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको जनाइएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।
यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । दूतावासले भन्यो ‘यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।’
नवनिर्मित वार्ड भवनले त्यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा गुणस्तरिय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको जनाएको छ।
यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको बताएको छ ।
सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरिएको पनि उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।
‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासको भनाई छ ।
तस्बिर सौजन्य: भारतीय दूतावास/ धुलिखेल अस्पताल