काठमाडौं, २३ साउन । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्वर भैरव मार्गमा दिउँसो चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने राजु नेपालीको कोठाबाट सोमबार सुनको गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा घर भएका ३८ वर्षीय दिपक खड्का र मकवानपुर घर भई काठमाडौं मरूहीटि बस्ने २७ वर्षीय निरज वि.क. रहेका छन् ।
नेपालीको कोठाबाट गत सोमबार उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने औंठी तीन थान, सिक्री दुई थान, टप एक थान, ब्रास्लेट एक थान, तिलहरी एक थान, पोते सहितको माला एक थान, चाँदीको जस्तो देखिने पाउजु दुई थान, मोबाइल एक थान र उनीहरूले प्रयोग गरेको बा.७९ प ७७६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।