मलेखु (धादिङ), २२ साउन । धादिङबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबसमाथि सुख्खा पहिरोसहित रुख खस्दा घाइते भएका यात्रुहरु मध्ये एक जनाको निधन भएको हो ।
राजमार्गमा गुडिरहेको उक्त माइक्रोमाथि सोमबार बिहान ९:२५ बजे गजुरी-५, पोखरेखोला भन्ने स्थानमा पहिरोसहितको रुख खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको उनले बताए ।
डीएसपी मिश्रका अनुसार उक्त माईक्रोमा १५ जना सवार थिए तीमध्ये १० जना घाइते भएका थिए ।
घाइतेमध्ये माइक्रोमा सवार रूविभ्याली गाउँपालिका-१ बस्ने ७२ वर्षीय निर्माग तामाङको उपचारको क्रममा निधन भएको छ ।
माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाडौंस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात डिचार्ज भएका छन् ।