मलेखु (धादिङ), २१ साउन । धादिङबाट काठमाडौँतर्फ आइरहेको माइक्रो बसमाथि सुख्खा पहिरोसहित रुख खस्दा दश यात्रुहरू घाइते भएका छन् ।
राजमार्गमा गुडिरहेको उक्त माइक्रोमाथि आज बिहान ९:२५ बजे गजुरी-५, पोखरे खोला भन्ने स्थानमा पहिरोसहितको रुख खसेको धादिङ प्रहरीले जनाएको छ ।
सुख्खा पहिरो खसेर केही बेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिए ।
धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको उनले बताए ।
मिश्रका अनुसार उक्त माईक्रोमा १५ जना सवार थिए तीमध्ये १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने बाँकी नौ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म गजुरी अस्पतालमा उपचार गराइरहेका पाँच जना डिस्चार्ज भइसकेका छन् ।
घाइतेहरूको विवरण
१) जिल्ला धादिङ नीलकण्ठ-३ पुछार बजार बस्ने वर्ष २६ की निन्दु शाह टाउकोमा चोट अवस्था सामान्य
२) ऐ. ४ बस्ने वर्ष ५० को शिवराज अधिकारी दाहिने हातमा चोट अवस्था सामान्य
३) ऐ. १२ सान्तबाजार बस्ने वर्ष ३१ की सुनिता घिमिरे शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
४) ऐ. ३ बिजबजार बस्ने वर्ष ४० को रमेश अधिकारी दुवै हातमा चोट अवस्था सामान्य
५) ऐ १४ बस्ने वर्ष ३५ को डिल बहादुर गुरुङ टाउकोमा चोट अवस्था सामान्य
६) ऐ.-४ खट्करी बस्ने वर्ष २६ की उर्मिला थापा मगर बायाँ पाखुरामा चोट अवस्था मध्यम
७) ऐ. रुविभ्याली गा.पा.१ बस्ने वर्ष ७२ को निर्माग तामाङ छातीमा चोट अवस्था मध्यम उपचारमा काठमाडौँ रेफर उपचारमा निजको छोरा संलग्न ।
८) ऐ.नेत्रावती गा.पा.४ बस्ने वर्ष २२ को सन्जु भुसाल दुवै हातमा चोट अवस्था मध्यम ।
९) ऐ.ज्वालामुखी गा.पा. ६ बस्ने वर्ष ३८ को दिनेश तिम्सिना दाहिने हातमा चोट अवस्था सामान्य
१०) जिल्ला मुगु रारा न.पा. ३ बस्ने वर्ष २२ को गंगाराम चौलागाईँ पेट र बायाँ हातमा चोट अवस्था सामान्य