कुश्मा (पर्वत), २१ श्रावण । लागुऔषध कारोबारमा संलग्न चार महिलालाई प्रहरीले कुश्मा-७ खहरियाबाट शनिबार दिउँसो पक्राउ गरेको छ । .
त्यस स्थानमा लागू औषधको कारोबार हुने सूचनाको आधारमा शनिबार दिउँसो खानतलासी गर्दा उनीहरू बस्ने डेराबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए ।
पक्राउ पर्नेमा २१ वर्षीया रोशनी नेपाली, २५ वर्षकी रेखा नेपाली, २६ वर्षकी श्रीषा घर्ती मगर र ३० वर्षकी रबिना तामाङ रहेका छन् । पक्राउ परेका महिलामध्ये रोशनी, रेखा र श्रीषा एउटा डेरामा बस्दथे भने रबिना तामाङको अर्कै डेरा थियो ।
प्रहरीले रोशनी नेपालीको डेराबाट डाईजेपाम समेत विभिन्न नाम गरेका ४७९ एम्पुल र रबिना तामाङको कोठाबाट ३३ एम्बुल लागूऔषध बरामद गरेको हो ।
लागुऔषध बेचबिखन गर्ने कार्यमा संलग्न चार महिलाउपर लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट आइतबारबाट लागू हुने गरी पन्ध्र दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए ।