सिन्धुली, २० श्रावण । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका व्यक्तिको उपचारको क्रममा निधन भएको छ ।
आज दिउँसो जिल्लाको दुधौली नगरपालिका-१ गिज्यानी बस्ने ५० वर्षका जंग बहादुर धामी र छिमेकी सोही उमेरका ईन्द्र सापकोटा र २७ वर्षका नबिन धामी बंकाखोलामा करेन्ट लगाई माछा मार्न गएका थिए ।
माछा मार्ने क्रममा नबिन धामीलाई करेन्ट लाग्यो । करेन्ट लागेर घाइते भएका धामीलाई उनीसँगै गएका अन्य दुई व्यक्तिहरूले उपचारको लागि नगर अस्पताल सिर्थौली लगे ।
अस्पतालमा उपचारको क्रममा धामीको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रवक्ता प्रहरी निरिषक केशव कुमार कट्वालले जानकारी दिए ।
मृतक धामीको शव कानुनी प्रकृया पुरा गरी पोस्टमार्टम पश्चात मृतकको बुबाले बुझि लगेको प्रहरी निरीक्षक कट्वालले जानकारी दिए ।