बारा, १९ साउन । बारा प्रहरीले ठूलो मात्रामा म्याद गुज्रेका पेय पदार्थ जफत गरेको छ ।
आज बिहान कलैया उपमहानगर-१ राजदेवी टोलमा रहेको एक डिलरबाट पेप्सी, स्प्राईट, माउण्टेन डियू, सेभेअप, सलाईस र मिरिन्डा समेत गरी ४८२ क्यारेट अर्थात ११हजार ५६८ बोतल पेय पदार्थ जफत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अमित केसरीको नाममा दर्ता रहेको केसरी एण्ड केसरी सन्स ईम्पेक्सबाट ती पेय पदार्थहरू नियन्त्रणमा लिएको हो ।
म्याद गुज्रेका पेय पदार्थहरू विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले छापामारेर पेय पदार्थहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बरामद भएको पेय पदार्थको बजार मूल्य आठ लाख १९ हजार चार सय रूपैया भएको प्रहरी निरीक्षक यादवले बताए ।
ग्रामीण भेग साथै शहरबजारमा हुने गरेका विवाह-वर्तबन्ध लगायतका पार्टीमा म्याद गुज्रेका पेय पदार्थहरू विक्री वितरण हुने गरेको गुनासो छ ।