
कञ्चनपुर, १७ श्रावण । खेतमा धान गोड्दै गरेको अवस्थामा जंगली जनावर बाघको आक्रमणमा परेर कञ्चनपुरमा एक महिलाको निधन भएको छ ।
जिल्लाको चाँधनी-दोधरा नगरपालिका-२ कमलशा टोलमा बस्ने २० वर्षीया हिरा शाहलाई आज बिहान बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमण पश्चात बेपत्ता भएकी शाहको शव घटनास्थल नजिकै उँखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
मंगलबार बेलुका जिल्लाको शुक्लाफाटा नगरपालिका-५ खजुवा बस्ने अन्दाजी ३० वर्षीया मानमती साउँदलाई पनि बाघले आक्रमण गरेको थियो । तर साउँदको अवस्था भने सुधारोन्मुख रहेको डिएसपी जोशीले जानकारी दिए ।