बारा, १२ भाद्र । बाराको निजगढ नगरपालिकामा निर्माणाधीन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पुरा कार्य सम्पन्न गरी आगामी कार्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको बताएको हो ।
उद्घाटन भए लगतै आँखा अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराइएको छ । निजगढ नगरपालिका-९ स्थित अस्पताल रोडमा २०७५ बाट सुरु भएको आँखा अस्पताल निर्माणमा अस्ट्रेलियन दाता संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ ।
मोफसलकै ठुलो आँखा अस्पतालका रूपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको बताइएको छ । ५ वर्षभित्र सम्पन्न हुने गरी निर्माण सुरु भएको भवन निमार्ण निर्धारित समयभन्दा २ वर्षअघि नै पुरा हुन लागेको हो ।
आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।
निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा सञ्चालन गर्ने बताइएको छ ।
तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।