रौतहट, १० भाद्र । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
चन्द्रपुर-४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिम बाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका-११ का बिबस सापकोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।
टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताए।
ठक्कर दिएको टाटा सुमो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्य भन्छन्, ‘सोमवार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तीव्र गतिको कारण हुनसक्ने प्रहरीको अनुमान छ।‘