तनहुँ, ९ भाद्र । भोली साढे तीन घण्टा पोखरा मुग्लिन सडकखण्ड पूर्णरुपमा बन्द हुने भएको छ ।
सोमबार (भोली) बिहान ६:३० बजेदेखि १०:०० बजेसम्म उक्त सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
शुक्रबार तनहुँ आँबुखैरेनी गाउँपालिका- ऐनापहरा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मर्स्याङदी नदीमा खसी दुर्घटना भएको थियो।
उक्त दुर्घटनाग्रस्त सवारी साधन निकाल्नको लागि ठूला मेसिनरी उपकरणहरु प्रयोग गर्नुपर्ने भएकोले भोली साढे तीन घण्टा उक्त मार्ग भएर चल्ने सवारीसाधन पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले बताए ।
प्रशासनले यात्रु, यातायात व्यवसायी लगायत सम्पूर्णमा सोही अनुरुप आफ्नो यात्रा ब्यवस्थापन गर्न अनुरोध गरेको छ ।