बारा, ९ भदौ । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तीव्र पारिएको छ ।
बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस वर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तीव्र गतिमा कार्य अगाडी बढाएको छ ।
नगर प्रमुख उपेन्द्र यादवका अनुसार यस पटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको बताए ।
बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन् । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ ।
पार्किङ व्यवस्थापनको कामलाई अघि बढाउन दक्ष प्राविधिक टोली खटाइएको महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । उनले भने, ‘मन्दिर परिसरबाहिरको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठुला गाडी, हलुका सवारी साधन र दुईपाङ्ग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ ।
मेलाको प्रचार-प्रसार र उद्घाटनको तयारीका लागि विभिन्न शक्ति पीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम सुरु भइसकेको छ ।‘
यसै गरी, मेलाका लागि खानेपानी व्यवस्थापन गर्न १०० भन्दा बढी सार्वजनिक धारा धमाधम जडान गर्न थालिएको छ । यस वर्षको गढीमाई मेला आश्विन १७ गते अर्थात् दसैँको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभा यात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना मेला समितिले बनाएको छ ।