काठमाडौं, ७ भाद्र । तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो।
बसमा ४० जना सवार रहेको बताइएको भएतापनि यसको पुष्टि हुन बाँकी नै छ ।
सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ।
बस सडकबाट करिव १५० मिटर तल खसेको र भिरालो ठाउँ भएकाले उद्दारमा कठिनाइ भएको बताइएको छ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ । दुर्घटनामा परेर अझै केही यात्रु बेपत्ता भएका छन् ।