गोरखा, ५ भदौ । १६ वर्षकी किशोरीमाथि यौनजन्य क्रियाकलाप गर्ने किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको शहिदलखन गाउँपालिका-९ नामजुङमा भदौ १ गते बिहान ४:०० बजे उक्त घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार पिडीत किशोरी सुतिरहेको अवस्थामा उनीमाथी चढि यौनजन्य अस्वभाविक कार्य गरी बाल यौन दुरुपयोग गरेको आरोपमा १४ वर्षका किशोरलाई पक्राउ गरिएको हो ।
उनले केटिएम दैनिकसँग भने, ‘पीडित किशोरीको दिदीमार्फत प्रहरीमा जाहेरी दरखास्त परेको थियो । हामीले भदौ ४ गते नियन्त्रणमा लिएका हौं ।‘
पीडित र पीडक दुवैजना नाबालिक भएकाले प्रहरीले उनीहरूको परिचय गोप्य राखेको छ ।
पक्राउ परेका किशोरउपर बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रहरी निरीक्षक शर्माले भने, ‘बाल निग्रानी कक्षमा राखेर अनुसन्धान गरिरहेका छौ ।थप पछि खुल्दै जानेछ ।‘
बालयौन दुरुपयोग भनेको के हो ?
कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिन्छ ।
मुलुकी अपराध संहिता २०७४ ले बालयौन दुरुपयोगमा कसुरदार ठहर गरेको व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने उल्लेख गरेको छ ।