म्याग्दी, ३ भाद्र । जग्गा विवादमा म्याग्दीको मालिका गाउँपालिका-३ डाडाँगाउँ बस्ने ४३ बर्सिया बिना कुमारी बिकको हत्या भएको छ ।
बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलवीर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ करिब साढे ६ बजेको समयमा सिर्पालीले धारिलो हतियार प्रहार गरी बिकको हत्या गरेर फरार भएका थिए ।
हत्या गरेर फरार भएका अभियुक्तलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले पक्राउ गरेको ।
प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बन्चरो फेला पारी बरामद गरेको छ ।
केही समय अघि मात्र उनीहरूबिच जग्गा किनबेचको विषयमा विवाद भएको बुझिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । हत्यामा संलग्न अभियुक्त श्रीपाली र मृतक छिमेकी नाताले दिदी भाइ पर्दछन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।