काठमाडौं । विभिन्न व्यक्तिहरूलाई क्यानडा लैजान्छु भन्दै ८४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-९ घर भई हाल ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी रहेका छन् ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार उनलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत क्यानडाको सपना देखाएर विभिन्न व्यक्तिहरूमार्फत ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भण्डारीलाई ठगी सम्वन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।