![कांग्रेस महाधिवेशन : तनहुँबाट सभापतिसहित ४ पदमा ११ जनाको दाबी](https://ktmdainik.com/wp-content/uploads/2021/12/tanahubata.jpg)
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्ने छ ।
२४ मंसिर शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेदवारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन् । तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक समूहमा छन् । तनहुँबाट सभापति देखि लिएर महामन्त्री, सहमहाभमन्त्री र केन्द्रीय कार्यसमिति सदस्यहरूमा दाबी देखिएको छ ।
तनहुँबाट प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेलले सभापतिमा दाबी गरिरहेका छन् । यसका लागि आफ्नो समूहमा सहमति जुटाउने प्रयासमा छन् ।
प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै राजनीतिमा होमिएका गोबिन्द भट्टराईको स्थायी घर तनहुँ भएतापनि हिजोआज बूढानीलकण्ठ बस्छन् ।
केन्द्रीय कार्यसमिति सदस्यमा ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल, प्रकाश पन्थ, डोबाटे विक, दीपक भट्टराई, आनन्द त्रिपाठी, रेशम गुरुङ र चिनु पोख्रेल आकांक्षीका रूपमा देखिएका छन् । दीपक भट्टराई तनहुँ क्षेत्र नं. १ बाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लामो समयदेखि नविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिविका पूर्व सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भइसकेका छन् ।