काठमाडौं । पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने संभावना देखिएको छ । पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार छन् ।
नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले पर्सामा थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको जानकारी दिनुभएको छ । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको छ ।’
र यो पनि पढ्नुहोस् :कोरोना संक्रमणबाट १७ जिल्ला प्रभावित, उच्च जोखिममा कुन कुन परे ?
संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत छन् ।
आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् । संक्रमित एक संचारकर्मीले भने– सिडियो र डिएसपीसहित हामी ७५ जना भन्दाबढी छलफलमा सँगै थियौँ ।’ यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको हो ।
अहिलेसम्म नेपालमा १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । तीमध्यै दोहोरो अंकमा संक्रमण देखिएका जिल्ला ५ वटा छन् । पर्सा जिल्लामा ६४ जना, उदयपुर जिल्लामा ३२ जना, कपिलवस्तु जिल्लामा २९ जना, बाँके जिल्लामा २४ जना र रुपन्देही जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
आजसम्म नेपालमा १ सय ९१ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । संक्रमितको संख्या १ सय ९१ पुग्दा १ सय ५८ जना पुरुष छन् भने ३३ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।