गण्डकी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए । वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध गत वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको नाम उनीहरूले प्रस्तावसमेत गरेका छन्।
साथै उनीहरूले अधिवेशन आह्वान गर्न प्रदेश सभामा निवेदन पनि दिएका थिए। वैशाख १३ गते सोमबार दिउँसो २ बजे प्रदेश सभाको अधिवेशन सुरू हुनेछ। प्रदेश सभाको अधिवेशन बोलाउन २८ सांसदले लिखित निवेदन दिएकोले अधिवेशन बोलाइएको प्रदेश प्रमुख अमिक शेरचनले उल्लेख गरेका छन्।