सुनसरी। धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्।
धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ।
धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको छ वर्ष भयो। उनी निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्छिन्। उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत छ। विशेषगरी बेलायत, अमेरिका र हङकङबाट अर्डर आउने गरेको उनले बताइन्।
“दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्,” तामाङले भनिन्।
तामाङले एकपटकमा १२० किलोसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेकी छन्। घाम लागेका बेला तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताइन्। जाडोयाममा भने सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने भएकाले बढी समय लाग्ने उनको अनुभव छ। सुकुटीको व्यापारबाट मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताइन्।
धरान–१५ कै बिनिता गिरीले पनि नौ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो एक हजार ६०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। सुकुटीको अचार भने प्रतिकिलो एक हजार ६०० देखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन्।
गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा र काठमाडौंसम्म पुग्छ। हङकङ र बेलायतलगायत देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिइन्। टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोग बढेसँगै अनलाइनमार्फत व्यापार गर्न सहज भएको उनको अनुभव छ।
घाम लाग्दा सुकुटी सुकाउन सहज भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताइन्। यसले उत्पादन लागत बढाउने र आम्दानीमा असर पार्ने उनको भनाइ छ।
निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रो आम्दानी हुने बताइन्। “सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु। सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ,” उनले भनिन्।
धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार पनि बनाउँछन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्।
सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न सहयोग पुर्याएको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने र सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्।