वीरगन्ज। पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपराध अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन्।
दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कर्तव्य ज्यानसम्बन्धी एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना पनि अभिलेख गरिएको छ।
लागुऔषधसम्बन्धी १६ मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानका क्रममा प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जना पक्राउ परेका छन्। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गर्नुका साथै ३ लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३४४ सवारीसाधनलाई कारबाही गरी १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।