काठमाडौँ – यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासमा कार्यरत गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई साउदी अरब छाड्न आदेश दिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल एक्समार्फत साउदी अरबमा रहेका गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाइएको पुष्टि गरेका हुन्।
उनका अनुसार हुथी विद्रोहीहरूले साउदी अरबका नागरिक विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण बढाएका छन्। ती आक्रमणका कारण सर्वसाधारणको ज्यान जानुका साथै हवाई यात्रा र आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ।
बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरबमा आफ्ना कर्मचारीको उपस्थिति घटाएको छ। क्षेत्रका अन्य केही अमेरिकी कूटनीतिक नियोगले पनि हुथी विद्रोहीबाट हुन सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै कर्मचारी व्यवस्थापनमा परिवर्तन गरिरहेका छन्।
अमेरिकी विदेश मन्त्रालयले बुधबार सुरक्षा सतर्कता जारी गर्दै अमेरिकी नागरिकलाई विमानस्थलमा हुन सक्ने सम्भावित आक्रमण तथा यात्रा अवरोधबारे सचेत रहन आग्रह गरेको छ। पछिल्ला साताहरूमा हुथी विद्रोहीले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार तथा सामुद्रिक मार्गलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन्।
नयाँ निर्देशनअनुसार साउदी अरबमा कार्यरत अमेरिकी सरकारी कर्मचारीले हालै भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि त्यहाँका कुनै पनि विमानस्थल प्रयोग गर्न नियोग प्रमुखको विशेष अनुमति लिनुपर्नेछ।
यसैबीच, साउदी अरबले बुधबार कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। पूर्वी प्रान्तस्थित शायबाह तेल क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको र अन्य दुई जना घाइते भएको बताइएको छ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार समर्थक तथा साउदी अरबको सहयोग प्राप्त सुरक्षा फौजले विभिन्न मोर्चामा हुथी विद्रोहीविरुद्ध कारबाही तीव्र पारेका छन्। साउदी वायुसेनाले हवाई सुरक्षा प्रदान गरिरहेको छ भने अमेरिकाले गुप्तचरी सूचना तथा सूचनाको आदानप्रदानमार्फत साउदी अरबलाई सैन्य सहयोग बढाएको छ।
यद्यपि, हुथी विद्रोहीविरुद्ध थप आक्रामक सहयोगका लागि साउदी अरबले आग्रह गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूविरुद्ध प्रत्यक्ष सैन्य आक्रमण गर्ने निर्णय गरिसकेका छैनन्।
साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि अन्य मित्रराष्ट्रले पनि सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। बेलायतले साउदी अरबलाई हुथी आक्रमणबाट जोगाउन लडाकु विमान तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।