काठमाडौँ । आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा लगाएर आफन्तबाट आशीर्वाद थाप्ने दिन। कतै घरआँगन आफन्तले भरिएका छन्, कतै पिङको मच्चाइ र दसैँका गीतले गाउँबस्ती गुञ्जिएका छन्। सामाजिक सञ्जालमा टीका र जमरा लगाएका तस्बिर छरिएका छन्। तर, यही उल्लासबीच केही बस्तीमा भने शोकको सन्नाटा छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएकाहरूका लागि यस वर्षको दसैँ खुसीभन्दा पीडाको सम्झना बनेको छ।
कसैका निधारमा रातो टीका टल्किएको छ, कसैका आँखा प्रियजनको सम्झनाले रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा थाप्ने चटारो छ, कतै टीका लगाइदिने आफन्त नै छैनन्। बाढीमा बेपत्ता भएकाहरू फर्किएर आउलान् कि भन्ने झिनो आशा अझै केही परिवारको मनमा बाँकी छ। कतै घरमा दसैँको रौनक छ, कतै घरै छैन। कतै गाउँमा उत्सव छ, कतै गाउँ नै बगर बनेको छ।
नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका लागि यस वर्षको दसैँ विगतभन्दा बढी पीडादायी बनेको छ। बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसेपछि उनीहरूका लागि टीका लगाउने र उत्सव मनाउने कुरा कल्पनाभन्दा बाहिर पुगेको छ।
“यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन्। दसैँमा टीका लगाउने त कुरै भएन,” नेपालले भने, “सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दसैँ आएछ भन्ने थाहा हुन्छ। यहाँ त केही छैन। दसैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन।”
बाढीले प्रत्यक्ष क्षति नपुर्याएको विदुर नगरपालिका–११ मा समेत यस वर्ष दसैँको उल्लास घटेको छ। छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले आफ्नो घर सुरक्षित रहेकाहरूको मन पनि भारी बनाएको छ। वडाध्यक्ष बाबुराम तामाङका अनुसार विगतमा पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने र आफन्तसँग भेटघाट गर्ने चहलपहल यसपालि छैन।
“यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दसैँको उत्साह छैन,” तामाङले भने।
रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि यति पीडादायी दसैँ अनुभव गरेका थिएनन्। बाढीले उनको सम्पत्ति मात्र बगाएन, आफन्त र गाउँलेसमेत खोस्यो। दुई महिना बित्न लाग्दा पनि गाउँ शोकबाट बाहिर निस्कन सकेको छैन।
“आफ्नो सम्पत्ति सबै बगायो। आफन्त छैनन्, गाउँले छैनन्। दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,” लामिछानेले भने, “ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ। दसैँ आएको हो कि गएको हो, त्यसको महत्त्व नै छैन।”
विगतमा दसैँ आउनुअघि घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने र आफन्तलाई बोलाउने चटारो हुन्थ्यो। यस वर्ष ती सबै सम्झनामा सीमित भएका छन्। उत्तरगयाकै सपना तामाङलाई पनि दसैँ आएको अनुभूति हुन सकेको छैन। चाडपर्वले पुराना सुखद क्षण सम्झाए पनि प्रियजन गुमाएकाहरूका लागि तिनै सम्झना पीडाको कारण बनेका छन्।
बाढीको प्रत्यक्ष मारमा नपरेका परिवारका लागि समेत यसपालिको दसैँ सहज छैन। वर्षौँदेखि सँगै चाडपर्व मनाउँदै आएका छिमेकी र साथीभाइ नहुँदा गाउँबस्तीको रौनक हराएको छ। आफन्तको जमघट र भेटघाटले भरिने घरआँगनमा यस वर्ष विछोडका सम्झना मात्र बाँकी छन्।
गोरखाको पालुङटार नगरपालिका–५ मा पनि दसैँको चहलपहल विगतको जस्तो छैन। भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकमा छन्। रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए। एउटै घटनामा ठूलो सङ्ख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा स्थानीयका लागि अझै ताजा छ।
पालुङटार–५ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार यस वर्ष गाउँमा टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाट गर्ने चहलपहल छैन।
“यसपटक पहिलाको जस्तो दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,” पाण्डेले भने।
दसैँमा घर फर्किनु भनेको आफ्नै घर पुग्नु मात्र होइन, आफन्त, छिमेकी र साथीभाइसँग भेट्नु पनि हो। तर, सँगै दसैँ मनाउँदै आएका मानिस नै नरहेपछि घरमै बसेर पनि धेरैले अपूरो महसुस गरिरहेका छन्। टीका र जमरा लगाउने परम्पराभन्दा प्रियजनसँग बिताएका पुराना क्षणको सम्झना उनीहरूका लागि गहिरो बनेको छ।
एकातिर देशभर दसैँको रौनक छ। सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छन्, गाउँबस्तीमा गीत गुञ्जिएका छन्। अर्कातिर, बाढी प्रभावित परिवारका घरमा शोकको सन्नाटा छ। उनीहरूका लागि दसैँ त आएको छ, तर त्यससँगै आउने खुसी फर्किएको छैन। यस वर्षको विजयादशमीले यही विडम्बना उजागर गरेको छ—कतै रौनक, कतै सुनसान।