भक्तपुर– विजयादशमीका अवसरमा आज भक्तपुरस्थित तलेजु भवानीमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीयवासी तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
तलेजुमा परम्पराअनुसार सबैभन्दा पहिले एकान्त कुमारी लुनिभाले शुभसाइतको टीका लगाएकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका ग्रहण गरेका थिए।
पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार पुजारी, नाइके, गुरु तथा पुरोहितले टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था खुला गरिएको थियो। त्यसक्रममा स्थानीय भक्तजन तथा सर्वसाधारणले कुमारीको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए।
कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा सम्पन्न भएपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई दसैँघरबाट मूलचोकको दक्षिणतर्फ रहेको देवगृहमा भित्र्याइएको जोशीले जानकारी दिए।
फूलपातीका दिन तलेजु भवानीलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो। विजयादशमीका दिन भने राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले विधिपूर्वक पूजा–आराधना सम्पन्न गरी तलेजु भवानीसहित अन्य देवीदेवतालाई देवगृहमा विराजमान गराएका हुन्।
यस अवसरमा १९ जना पुजारीले परम्परागत जामा, पगरी, भोटो र खास्टोलगायतका पोसाक धारण गरी धार्मिक विधिअनुसार देवीदेवतालाई दसैँघरबाट देवगृहमा भित्र्याएका थिए।