दमौली। दिवङ्गत पत्रकार तथा साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजार ८३२ रुपैयाँ सङ्कलन गरिएको छ।
तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त पहलमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित रकममध्ये उपाध्यायकी पत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि १२ लाख पाँच हजार ८७५ रुपैयाँ हस्तान्तरण गरिएको छ।
तनहुँ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरालाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सङ्कलित रकममध्ये बाँकी चार लाख एक हजार ९५७ रुपैयाँ दसैँलगत्तै उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ।
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहेका उपाध्यायको गत महिना निधन भएको थियो। तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उनको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाको सहकार्यमा रकम सङ्कलन गरिएको हो।