वीरगन्ज (पर्सा) । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद रहेका छन् ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।