काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको जीवित देवी कुमारीलाई मंगलबार राति दर्शन गराइएको छ।
परम्पराअनुसार तान्त्रिक र वैदिक विधिबाट कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। दर्शनबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
कुमारी घरका व्यवस्थापक गौतम शाक्यका अनुसार कुमारीलाई रथयात्रासहित सुरक्षित रूपमा कुमारी घरबाट तलेजु मन्दिर परिसरमा पुर्याइएको थियो। दर्शन गराउन तलेजु भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो।
हनुमानढोका दरबारको उत्तरी भागमा रहेको तीनतले प्यागोडा शैलीको तलेजु मन्दिरमा स्थापित भवानीलाई मल्ल राजाहरूले कुलदेवताका रूपमा मान्ने गरेको इतिहास छ।