पेरिस। फ्रान्स सरकारले अक्टोबर १७ मा पेरिस, मार्से र लियोनलगायत सहरमा भएका हिंसा तथा लुटपाट नियन्त्रणमा कमजोरी भएको स्वीकार गर्दै आगामी शनिबार हुने प्रदर्शनलाई लक्षित गरी प्रहरीसँगै सेना पनि परिचालन गर्ने भएको छ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मङ्गलबार आगामी शनिबार व्यापक सुरक्षा व्यवस्था लागू गरिने बताएका हुन्। गृहमन्त्री लरेन नुनेजले पनि प्रदर्शन नियन्त्रणका लागि प्रहरीसँगै सेना परिचालन गरिने जानकारी दिएका छन्। उनले पछिल्ला घटनामा सुरक्षा व्यवस्थापनमा भएका कमजोरीप्रति दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी स्वीकार गरेका छन्।
प्रधानमन्त्री लेकोर्नुले गुप्तचर सूचनाको विश्लेषणमा कमजोरी भएको, प्रहरी परिचालन प्रभावकारी हुन नसकेको र प्रहरीको पूर्वनिर्धारित बिदासमेत रद्द नगरिएको स्वीकार गरेका छन्।
सरकारका अनुसार हिंसापछि प्रभावित क्षेत्रमा लागू गरिएको स्थानीय कर्फ्युले स्थिति नियन्त्रणमा ल्याउन सहयोग गरेको छ। केही क्षेत्रमा १८ वर्षमुनिका बालबालिकामाथि समेत निषेधाज्ञा लगाइएको छ।
यसैबीच, फ्रान्सको संसद्ले हिंसाका कारणबारे छानबिन गर्न आयोग गठन गर्ने तयारी गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि दुई सय अनुसन्धानकर्ता परिचालन गरिएको छ। लिमोज सहरको ऐतिहासिक नगर भवनमा आगजनी गरेको आशङ्कामा मङ्गलबार एक व्यक्ति पक्राउ परेका छन्।
महँगी, इन्धनको बढ्दो मूल्य र सार्वजनिक सेवामा बजेट अभावलाई लिएर जनअसन्तुष्टि बढिरहेका बेला विद्यार्थी सङ्गठन यूएनईएफले आगामी शनिबार पनि प्रदर्शन जारी राख्ने घोषणा गरेको छ। ‘हामी आन्दोलन जारी राख्छौँ’ भन्दै सङ्गठनले राष्ट्रपति इमानुएल म्याक्रों नेतृत्वको सरकारमाथि दबाब कायम राख्ने जनाएको छ। ‘यल्लो भेस्ट’ समूहले पनि इन्धनको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ।
हिंसा र लुटपाटको असर फ्रान्सको अर्थतन्त्रमा समेत देखिन थालेको छ। लगानीकर्ताको चिन्ताबीच फ्रान्सको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल सन् २००२ यताकै उच्च स्तरमा पुगेको छ। सुपरमार्केट चेन क्यारेफोरले लुटपाट र तोडफोडका कारण करोडौँ युरोबराबरको क्षति भएको जनाएको छ।
फ्रान्समा अशान्ति बढिरहेका बेला इटाली र अल्बानियामा पनि प्रदर्शन तथा सरकारविरोधी गतिविधि तीव्र भएका छन्। इटालीको मिलानलगायत सहरमा गत सप्ताहान्त हिंसात्मक घटना भएका थिए। त्यस्तै, अल्बानियाको राजधानी तिरानामा सरकारविरोधी प्रदर्शन लगातार सातौँ दिनसम्म जारी रहने अपेक्षा गरिएको छ।